मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा स्थापित ‘डा. ओम फाउन्डेसन’ले सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । पहिलो चरणमा फाउन्डेसनले सोमबार ३७ जिल्लाका ६० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो । शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गर्ने फाउन्डेसनको निर्णय बमोजिम गत माघ १७ गतेदेखि फागुन ५ गतेसम्म छात्रवृत्तिका निम्ति देशभरबाट आवेदन माग गरिएको थियो । प्राप्त आवेदनहरूको अध्ययन गरी पहिलो चरणको छात्रवृत्ति घोषणा गरिएको हो । आवेदन दिन छुटेका र पहिलो चरणमा नपरेका जिल्लालाई प्राथमिकता दिँदै प्रतीक्षा सूचीमा रहेका विद्यार्थीलाई क्रमशः छात्रवृत्ति प्रदान गरिने फाउन्डेसनले जनाएको छ । छुट भएकाहरुबाट पुनः आवेदन माग गरिनेछ । छात्रवृत्तिको रकम फाउन्डेसनले अभिभावक वा विद्यालयको खातामा सिधै जम्मा गरिदिनेछ, जसले एक वर्षको शैक्षिक सामग्री तथा विद्यालय पोशाक खरिद गर्न मद्दत गर्नेछ । फाउन्डेसनले शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गर्न २० लाख रुपैयाँ रकम छुट्टाएको छ । पहिलो चरणमा छात्रवृत्ति प्राप्त गर्ने ६० जनामध्ये ४० छात्रा र २० छात्र छन । जसमा मुस्लिम २ जना, थारु ५ जना, मधेसी १२ जना, दलित १३ जना, जनजाति १४ र अन्य समुदायका १४ जना विद्यार्थी रहेका छन् । प्रदेशगत प्रतिनिधित्व सुदूरपश्चिम प्रदेशबाट १५ प्रतिशत, कर्णालीबाट १० प्रतिशत, लुम्बिनीबाट १७ प्रतिशत, गण्डकीबाट १५ प्रतिशत, बागमतीबाट १२, मधेसबाट २१ प्रतिशत र कोसीबाट १० प्रतिशत रहेको छ । विपन्न तथा जेहेन्दार विद्यार्थी, अभिभावकविहीन, अभिभावक शारीरिक रूपमा अशक्त भएकाहरूलाई छात्रवृत्ति प्रदान गरिएको फाउन्डेसनका संस्थापक एवम् मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले जानकारी दिनुभयो । स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको फाउन्डेसनले हालसम्म बाह्य सहयोग लिएको छैन । अहिलेसम्म डा. ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त रकम र उहाँको व्यक्तिगत सहयोगबाट कार्यक्रमको आर्थिक व्यवस्थापन हुँदै आएको छ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली